नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढ्यो

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताएका हुन् ।

प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले दुई सुरक्षा निकायले ५० प्रतिशत भत्ता बढाउनुपर्ने प्रस्ताव गृहसमक्ष राखेका थिए । तर अर्थ मन्त्रालयले राज्यलाई आर्थिक भार पर्ने बताउँदै धेरै बढाउन नसकिने बताउँदै आएको थियो ।

गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले मूल्यवृद्धि ३३ प्रतिशतले बढेको भन्दै भत्ता बढाउन सिफारिस गरेको थियो । त्यसअघि सह–सचिव चक्रबहादुर बुढाको नेतृत्वमा गठित समितिले हरेक दुई वर्षमा रासन भत्ता वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

कति थियो भत्ता ?

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार जिल्लापिच्छे रासन भत्ताको दर फरक छ । ‘अहिले ३५ सयदेखि १५ हजार रुपैयाँसम्म रासन भत्ता दिइने गरिएको छ’ उनले अनलाइनखबरसँग भने, ‘हुम्ला, जुम्ला जस्ता जिल्लामा १० हजार बढी छ, काठमाडौंमा ४ देखि ५ हजारको बीचमा छ ।’

यो रकम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने रासत भत्ता दररेट निर्धारण समितिले मूल्यांकन गरेर तोक्ने गरेको छ ।

रासन भत्ता छाक टार्नै नपुग्ने भएको तल्ला तहका प्रहरी अधिकारीहरुको गुनासो रहँदै आएको छ । पेन्सन अवधि पुग्ने वित्तिकै उनीहरुले जागिर छाड्ने क्रम बढिरहेका वेला प्रोत्साहनका लागि पनि भत्ता बढाउने निर्णय सुखद् भएको अधिकृतहरु बताउँछन् ।