आजबाट निषेधाज्ञ कडाई उल्लंघन गर्नेलाई जरिवानाका साथै कैद सजाय

१४ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा आजबाट थप गरिएको निषेधाज्ञ कडाई गरिने भएको छ । कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा आजदेखि थप प्रभावकारी बनाइने उपत्यकाका सिडियोहरुको बैठकले बताएको थियो । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई आज शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ ।

निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गरिने जानकारी दिनुहुँदै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विपन्न, असहाय र गरिब परिवारका लागि स्थानीय वडा तहबाट राहतको व्यवस्था गरिएको बताए ।

अप्ठ्यारो परेमा स्थानीय वडा कार्यालयमा वा टेलिफोन नं. १०३ मा सम्पर्क गर्न आग्रह गरेका छौँ । उपत्यकामा कोरोना सङ्क्रमण बढ्नुका कारणमध्ये खाद्य तथा किराना पसल पनि एक भएको बुझाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र
(डीसीसीएमसी) को छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई शुक्रबारदेखि जरिवाना लिन सुरु गरिने बताउए । निषेधाज्ञा उल्लङ्घनको प्रकृतिअनुसार व्यक्तिलाई एक सयदेखि पाँच सय रुपियाँसम्म र सवारीसाधनलाई पाँच सयदेखि पाँच हजार रुपियाँ जरिवाना तिराइने उनले स्पष्ट पारे ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले केही दिनअघि काठमाडौँ उपत्यकामा खाद्य तथा किराना पसल र डिपार्टमेन्ट स्टोर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हुन् । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सुरक्षागार्डबाहेकका लागि आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।