यास चक्रवातको प्रभावका कारण नेपालमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

१४ जेठ, काठमाडौं । भारतको बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण आज नेपालको सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । त्यसैले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । यो अवस्थासँगै धेरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् मीन कुमार अर्यालले मौसममा शनिबार अपराह्नबाट क्रमशः सुधार हुँदै जाने जानकारी दिए ।

महाशाखाले जारी गरेको नियमित बुलेटिनमा उल्लेख भएअनुसार शुक्रबार दिउँसो र राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ । यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ ।

शनिबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।