कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसल, डिपार्टमेन्ट बन्द हुने

१२ जेठ, काठमाडौं । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण बढेपछि एक महिना अघि लगाइएको निषेधाज्ञा बाट पनि कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसलसमेत बन्द गर्ने निर्णय गर्नु परेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् ।

काठमाडौैं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर समेत बन्द गर्ने प्रशासनको निर्णय अव्यावहारिक भएको भन्दै गुनासो आइरहेका बेला प्रजिअ भट्टराईले सर्वसाधारणकै लागि यो निर्णय लिइएको बताए ।

व्यावहारिकता हेरेरै पानी, फलफूल र तरकारीलाई रोकेका छैनौं, दाल, चामल त एक हप्तालाई किनेर राख्दा भइहाल्छ । त्यसका लागि दुई दिन समय पनि दिएका छौं ।

दुई दिनसम्म सबै पसल खुल्ने भएकाले भिडभाड नहुने उनले बताए । भट्टराईले थपे, ‘निषेधाज्ञा मात्रै अचूक उपाय होइन, जनता आफैंले पनि सहयोग गर्नुप¥यो । एक साता गुन्द्रुक, चना र भात खाँदा केही हुँदैन ।
भट्टराईले ज्यानभन्दा ठूलो अरु कुरा नभएको भन्दै नागरिकलाई प्रशासनको निर्णयलाई सकरात्मक रुपमा लिइदिन आग्रह गरे । उनले थपे, ‘प्रशासनले निषेधाज्ञा लगाएर जमघट नगर भन्यो तर, किनमेलका नाममा पसलहरुमा भिड बढ्यो । जनताले सतर्कता अपनाइदिएको भए यो निर्णय गर्नैपर्ने थिएन ।’

एक सातापछि निर्णयमाथि पुनर्विचार हुने प्रशासनका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार यो बीचमा कसैलाई धेरै समस्या भए प्रशासनमा खबर गर्न पनि सक्नेछन् ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलबार पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने गरी एक साता निषेधाज्ञा थप गरेको थियो । प्रशासनले सरकारी सवारीसाधनलाई पनि दिउँसो हिँड्न रोक लगाएको छ ।