२२ दलको निष्कर्ष : नेपाली जनतालाई एकजुट भएर परिस्थितिअनुसारका विरोधका कार्यक्रममा अघि बढ्न आह्वान

११ जेठ, काठमाडौं । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्पति बिद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बिघठन र नयां चुनावको घोषणा गरेपछि राजनीतिले चरम रुप लिइरहेको बेला बाइस राजनीतिक दलले नेपालको राजनीति भयानक संकटको सामना गर्ने अवस्थामा पुगेको बताएका छन् । ‘कथित’ संसदीय निर्वाचनको मिति तोकिनुले यस पछाडी ठूलो षड्यन्त्र लुकेको २२ दलले बताएका छन् । जनताले अहिले चुनाव नभएर आफ्नो जीवन रक्षा चाहेको कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दलका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

‘यतिखेर नेपाल राष्ट्र र नेपाली जनताको पहिलो र सर्वोच्च प्राथमिकताको विषय जीवन रक्षा हो । यसप्रति राष्ट्रपति र प्रधानमन्त्रीमा देखिएको तिरस्कार र संवेदनहीनताको हामी भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘जेठ ७ गते मध्यराति विद्यमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसद् विघटन गरेर आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने आदेश जारी गरेपछि पहिलेदेखि नै संकटबाट गुज्रिरहेको नेपालको राजनीति झन् भयानक संकटको सामना गर्ने अवस्थामा पुगेको छ ।’

जनता कोरोना महामारीबाट आक्रान्त बनिरहेको भन्दै अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर बिरामीहरू छटपटाइरहेको र केयौंले ज्यानसमेत गुमाइसकेको अवस्थामा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन उनीहरूको आग्रह छ ।

‘लामो समयदेखि निरन्तर भइरहेको निषेधाज्ञाका कारण निम्न आय भएका र दिनदिनै श्रम गरेर धानिनुपर्ने अवस्थामा रहेका जनताले दैनिक जीवन धान्न नसकेर बिचल्ली भइरहेको छ । यतिखेर नेपाल राष्ट्र र नेपाली जनताको पहिलो र सर्वोच्च प्राथमिकताको विषय जीवन रक्षा हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विशेषज्ञहरूले आगामी मङ्सिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पु¥याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ ।’

२२ दलले राष्ट्रपतिले गरेको गलत निर्णय अविलम्ब खारेज गर्न माग गरेको छ । ‘हाम्रो देशमा संकट पैदा गराउन मलजल गरी यस्तो स्थितिबाट फाइदा उठाएर विदेशी शक्तिहरूले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको सर्वत्र चर्चा भइरहेको छ । यस्तो स्थितिमा नेपाल राष्ट्रको सार्वभौमिकता र जनताको जीवन रक्षाका लागि सम्पूर्ण देशभक्त, प्रगतिशील शक्तिहरू र नेपाली जनतालाई एकजुट भएर परिस्थितिअनुसारका विरोधका कार्यक्रममा अघि बढ्न हामी आह्वान गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दलहरु नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल), ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपालले संयुक्त विज्ञप्ति निकालेका हुन् ।