प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चार माध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह

११ जेठ, काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चार माध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ ।

मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह गरेका इमेज च्यानलका सम्पादक राजन कुइँकेलले बताए ।

‘समाचारको स्रोत आधार प्रमाणसहित पेश गर्न र क्षमा माग्न आग्रह गर्नुभयो, हामीले दुबै कुरा हुन सक्दैन, यो कल्पना भन्दा बाहिरको कुरा हो, यो संस्थाबाट त्यस्तो माग हुनु नै दुखद कुरा हो भन्यौं’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेट भएको भनी समाचार लेखेको विषयलाई लिएर सर्वोच्चले नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृत र इमेज च्यानलका सम्पादक कुइँकेललाई बोलाएको थियो ।

उनीहरुसँगै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी पनि सर्वोच्च पुगेका थिए ।

नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृतले समाचारको विषयलाई लिएर माफी माग्न आग्रह गरेका र आफूहरुले अस्वीकार गरेको बताए । ‘मुखै फोरेर माफी माग्नुपर्छ भने, हामीले माफी मागिन्न, हाम्रो समाचारमा हामी अडिग छौं, तपाईंहरु खण्डन पठाउनुस्, विधि पद्धति र प्रक्रियाले जे भन्छ हामी त्यही गर्छौं भन्यौं’ उनले भने ।

छलफलपछि रजिस्ट्रार पन्थीले सर्वोच्च अदालतको मर्यादा, संवेदनशीलतामा ध्यान पु¥याइदिन आग्रह गरेका र आफूहरुले संस्थाको मर्यादामा असर पु¥याउने उद्देश्य नराखेको बताएको इमेजका सम्पादक कुइँकेलले बताए ।

छलफलमा सहभागी भएका नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले समाचारको विषयलाई लिएर सर्वोच्च अदालतले छलफलमा बोलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने बताए । ‘समाचारमा चित्त नबुझे स्थापित मान्यताहरु छन्, तिनका आधारमा समाचार खोज्नुपर्छ’ उनले भने ।

भेट भएको छैन : सर्वोच्च

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ ।

मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् ।

विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ ।

जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने बताएको छ ।