६ जेठ, काठमाडौं । बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा डा. खिमलाल देवकोटाले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको बताएका छन् ।
हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, सांसरमा पनि सायद पाइदैन ।
उनले यो जित आफ्नो मात्र नभई स्वतन्त्र नागरिकको जित भएको बताएका छन् । ‘यो मेरो मात्र विजय होइन, स्वतन्त्र रुपमा कलम चलाउने, बहस गर्नेहरुको पनि जित हो’ डा. देवकोटाले भने ।
वाग्मती प्रदेशमा बिहीबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा. देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरेका हुन् ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।
राष्ट्रियसभा विज्ञहरुको थलो हो भन्दै देवकोटाले अब त्यहाँ प्रदेश र स्थानीय तहको पक्षमा आवाज उठाउने बताए । ‘संघीय राज्यहरुको अभ्यास हेर्ने हो भने अपर हाउस हो भनेको सब नेसशनल गभर्मेन्टको आवाज बोल्ने थलो हो’ उनले भने,‘निर्वाचित जनप्रतिनिधि जसले निर्वाचित गरेको हो त्यसप्रति जवाफदेही हुने हो । विगतमा त्यो जवाफदेहीता पाएनौं, म निर्वाह गर्छु ।’