जेठ १३ गतेसम्म पर्सामा निषेधाज्ञा लम्ब्याउन सिफारिस

५ जेठ, वीरगञ्ज । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी राख्ने सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ १३ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी राख्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।

डीसीसीएमसीको बैठकले कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि लगाइएको निषेधाज्ञा संक्रमणको शृंखला तोड्न उपयोगी देखिएकाले एक साता थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा समुदायस्तरमै फैलिएपछि वैशाख १६ गतेदेखि पर्सामा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप गरिएको समयअनुसार निषेधाज्ञाको समय भेली मध्यराति सकिंदैछ ।

पर्सामा अझै १ हजार ७९४ जना सक्रिय संक्रमित छन् । पहिलो चरणमा ५५ जनासहित कोरोना संक्रमणबाट जिल्लामा १४६ जनाको मृत्यु भइसकेको छ । अन्य जिल्ला घर भई पर्सामा मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।