कोरोना संक्रमणबाट आँखा रोेग विशेषज्ञ प्रा.डा. पूज्यश्री कार्कीको निधन

५ जेठ, काठमाडौं । आँखा रोेग विशेषज्ञ प्रा.डा. पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट आज निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान करिब २ बजे डा. कार्कीको निधन भएको किस्ट मेडिकल कलेजका अमीश पाठकले जानकारी गराए ।

उनलाई १० दिनअघि संक्रमण पुष्टि भएको थियो । लगतै किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको सात दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार आएन ।

उनका पति पनि चिकित्सक नै हुन् । त्यसैले नर्भिक अस्पताल लैजाने सल्लाह भयो र तीन दिनअघि नर्भिक लगिएको थियो । तर पनि बचाउन सकिएन । बायल्याट्रल निमोनियाका कारण उनको निधन भएको चिकित्सकले बताएका छन् ।
प्रा. डा. कार्की विगत १३ वर्षदेखि किष्टमा आँखा रोग विभागको प्रमुखको रुपमा कार्यरत थिइन् । डा. कार्कीको निधनले मुलुकलाई ठूलो क्षति पुगेको पाठक बताउँछन्

वीपी विज्ञान राष्ट्रिय प्रतिष्ठान धरानबाट आँखामा एमडी गरेकी डा. कार्कीले २०६५ सालमा लेक्चरलको रुपमा किस्ट अस्पतालमा सेवा प्रारम्भ गरेकी थिइन् । उनको नेतृत्वमा झण्डै सात ब्याज विद्यार्थीले एमबीबीएस पास गरिसकेका छन् । यो अवधिमा करिब ८०० जनशक्ति उत्पादन भइसकेको पाठक बताउँछन् । आँखा रोगसम्बन्धी जनशक्ति उत्पादनमा उनको ठुलो योगदान रहेको छ ।