गएको ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु

२२ वैशाख, बुटवल । पछिल्लो चरणमा नेपालमा कोरोना संक्रमण दर बढ्नुका साथै कोरोना संक्रमणबाट मर्नेको संख्या पनि बढ्दो क्रममा रहेको छ । यसै क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा गएको ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए ।

बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षिय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै कन्चन गाउँपालिका–४का २७ वर्षिया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान ५.४५ बजे मृत्यु भएको हो ।

यस्तै बुटवल ९का ५४ वर्षिया महिलामा बैसाख १८ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान ६.२२ मा मृत्यु भएको हो ।

यस्तै बैसाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षिया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा बुधबार बिहान ६.३८ मा मृत्यु भएको अस्पतालले बताएको छ ।