२०७५ जेठ २ मा फर्किनु भएन भने हामीहरुको सामूहिक राजीनामा आउंछ

२१ वैशाख, काठमाडौँ । नेकपा एमाले अहिले फुटको अन्तिम संघारमा रहेको छ । पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता माधव पक्षलाई पेलानका साथै नेताहरुलाई कारवाही समेत गरिरहेका छन् । स्पष्ट दुई धारमा देखिएको एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय सांसदले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

आफ्नो पक्षलाई यसरी नै पेलेरै जाने नीति लिए सामूहिक राजीनामा दिने सन्देश प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको छ ।

फागुन २८ गते ओलीले एकलौटी रूपमा राखेको बैठकयताको समयलाई शुन्य समय मान्नुपर्छ । त्यो भनेको २०७५ जेठ २ मा फर्किनु हो,’ ती सांसदले भने,’ओलीसँग बहुमत छँदैछ । उनले चाहेमा पार्टीका सबै कमिटीलाई आयोजक कमिटीसमेत बताउन सक्छन् । तर हाम्रो उपस्थिति हुनुपर्छ ।

आफूहरूले राजीनामा दिँदा संघमा मात्र नभई प्रदेशमा समेत राजीनामा दिने उनले बताए ।

संघ र प्रदेशमा समेत हामीले राजीनामा दिने हो भने सबैतिर एमालेको सरकार रहँदैन । त्यसको घाटा ओलीलाई नै हुन्छ,’ अर्का एक सांसदले भने, ’फ्लोर क्रस,अनुपस्थित भन्दा यो बढी राजनीतिक हुन्छ भन्ने हाम्रो बुझाइ छ । यसले हामीलाई जनता र कार्यकर्तामा समेत जान सजिलो हुन्छ ।

सामूहिक राजीनामा दिने चेतावनीसहितको सन्देश पठाए पनि अहिलेसम्म कुनै जवाफ नआएको ती सांसदको भनाइ छ ।

ओली पक्षीय एक सांसदले नेपाल पक्षले फ्लोर क्रस, अनुपस्थित र राजीनामामध्ये एक रोज्न सक्ने छन् ।

उनीहरूले हामीलाई सहयोग गर्छन् भन्ने लागेको छैन । उनीहरूले २०७५ जेठ २ मा फर्किनु पर्ने सर्त राखेका छन् । जुन पूरा गर्ने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्न,’ ती सांसदले भने,’अहिले परिस्थिती धेरै अघि बढिसकेको छ । त्यसैले प्रधानमन्त्रीले धेरै पहल गर्नुहुन्छ जस्तो लाग्दैन । विश्वासको मत प्राप्त भए हुन्छ नभए हुँदैन भन्ने सोच प्रधानमन्त्रीले बनाइसक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने घोषणा गरिसकेका छन् । नेपाल पक्षसँग रहेको भनिएका ३५ सांसदमध्ये प्रत्यक्ष निर्वाचित सांसद २३ जना हुन् । २३ मध्ये सुर्खेतबाट निर्वाचित ध्रुव शाहीले नेपाल समूह छोडेको बताइसकेका छन् । बाँकी २२ मध्ये ओलीले २० जनालाई स्पष्टीकरणसमेत सोधेका छन् । ओलीले प्रत्यक्षतर्फका २० सहित ३० जना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

’समानुपातिक सांसदले राजीनामा दिएर अर्थ भएन । त्यो ठाउँमा तत्कालै अरू ल्याउन
सक्छन् । राजीनामा दिनुपर्ने अवस्थामा कति रहन्छन । त्यो पनि आफ्नो ठाउँमा होला,’ उनले भने,’ओली लचिलो नभएमा हामीसँग अब अरू केही विकल्प रहलाजस्तो छैन । यद्यपी नेताहरूको छलफलले कस्तो निष्कर्ष निकाल्छ त्यो नै हाम्रो अन्तिम निर्णय हुन्छ ।