कोरोनाको दोस्रो लहर बढेसँगै विद्युतीय शवदाह गृहमा शवको संख्या बढ्न थाल्यो

१७ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या बढेसँगै पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा जलाउन लगिने शवको संख्या बढेको छ ।

उक्त शवदाह गृहमा हिजो २५ वटा शव जलाइएको हो । यो दोस्रो लहरको कोरोना भाइरसको महामारी सुरु भएपछिको सबैभन्दा धेरै हो ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार गत वर्ष एकै दिनमा ४५ वटासम्म शव विद्युतीय शव दाहगृहमा जलाइएको थियो ।

वैशाख १ गतेदेखि फेरि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको खतिवडाले बताए । कोरोना महामारीबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ ।

अन्तिम संस्कारमा मृतकको परिवारलाई पनि सहभागी गराइन्छ । कोरोना संक्रमणको जोखिम हुने हुनाले परिवारका सदस्यले सामान्य अवस्थामा जस्तो साँस्कृतिक कर्म गर्न पाउने छैनन् ।