राष्ट्रिय सभामा बादलको ठाउँमा उपचुनाव हुने

५ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमाले प्रवेश गरे पछि नेकपा माओवादी केन्द्रले उनको राष्ट्रिय सभा सदस्य पद खारेज गरे पछि रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख गरेको छ ।

‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ ।

उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही अनुसार आजै संसद सचिवालयले बादलको पद रिक्त भएको सूचना जारी गरेको छ ।