कर्णालीको ‘फ्लोर क्रस’ भोट गण्डकीमा पनि दोहोरिन सक्ने

४ वैशाख, काठमाडौं । हिजो बसेको कर्णाली प्रदेशको सातौ अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिंदै आफ्नो पद सुरक्षित राखेका छन् । नेकपा एमालेले शाही सरकार बिरुद्ध ल्लाएको अविश्वासको मतमाथि नेकपा एमाले कै चार जना प्रदेश सांसदले अविश्वास प्रस्तावको विपक्षमा ‘फ्लोर क्रस’ गर्दै मतदान संगै महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।

हिजो कर्णालीमा भएको सो घटनाले नेपालको राजनीति तातिएर आएको छ । त्यसमा एमालेभित्र केपी ओली समूह र माधव नेपाल समूहबीचको झन टकराव चुलिएको छ ।

कर्णाली प्रदशेको त्यही राजनीतिम ‘फ्लोर क्रस’ गण्डकी प्रदेशमा पनि दोहोरिने सम्भावना छ । गण्डकीमा विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

गण्डकी प्रदेश सभामा माधव नेपाल समूहबाट एक जना मात्रै सांसद छन् । नेकपा बाग्लुङका अध्यक्षसमेत रहेका सांसद इन्द्रलाल सापकोटाले गण्डकीमा पनि ‘फ्लोर क्रस’ गर्न सक्ने एमाले वृत्तमा चर्चा छ ।

मुख्यमन्त्री गुरुङविरूद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कि विपक्षमा अहिल्यै निर्णय गर्ने बेला नभएको उनले बताएका छन् ।

मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने बेला भएको छैन, मत लिने बेला निर्णय गर्छु,’ सापकोटाले भने, ‘कर्णालीमा कुन परिस्थितिमा साथीहरूले फ्लोर क्रस गर्नुभयो मैले बुझिसकेको छैन ।

एमालेमा चर्कदो विग्रहले नेताहरुमा ‘विनाशकाले विपरीत बुद्धि’ देखिएको सापकोटाले बताए । अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने अवस्था गण्डकीमा नरहेको भन्दै उनले यही अवस्थामा पार्टी निर्णय मान्ने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरूद्ध विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्री गुरुङ आफ्नो पक्षमा विश्वासको मत जुटाउन काठमाडौं पुगेर शीर्ष नेताहरूसँग भेटवार्ता गर्दैछन् ।

प्रदेशसभामा एमालेको सिट संख्या स्वतन्त्र सांसद दीपक मनाङेसहित २८ जना छन् । कांग्रेसको १५ जना, माओवादी केन्द्रको १२ जना, राष्ट्रिय जनमोर्चाको तीन जना र जनता समाजवादी पार्टीको दुई जना सांसद छन् ।
मुख्यमन्त्री गुरुङलाई कुर्सी जोगाउन एमालेबाहेकका तीन मत आवश्यक छ ।