पुलिस लगाएर काठमाडौं प्लाजा खाली गराउन थालियो

३० चैत, काठमाडौं । नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गराउने भएको छ ।

ठेक्का लिएको कम्पनीलाई पटक–पटक भने पनि अटेर गरेपछि खाली गराउन लागिएको ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए ।

कमलादीस्थित उक्त प्लाजाको २७ वर्षको लिज ठेक्का कन्सेप्ट डेभलपर्स प्रा.लि.ले लिएको थियो ।

सम्झौता अवधि सकिएको झन्डै एक वर्षसम्म उसले प्लाजा खाली गरेन ।

‘वैशाख २ गते हामी प्रहरी लगाएर बलपूर्वक प्लाजा खाली गराउँदैछौं,’ आचार्यले भने ।

कम्पनीलाई प्लाजा खाली गराउन गत असार, कात्तिक र अन्तिमपटक हालसालै सूचना निकालेर समय दिइएको थियो ।

अन्तिमपटक जारी गरेको सूचना भोलि (मंगलबार) सकिँदैछ ।

कौडीको भाउमा २०५२ सालमा उक्त कम्पनीले प्लाजा लिजमा लिएको थियो । त्यसबेला उक्त प्लाजा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको नाममा थियो ।

पछि २०६४ सालमा राजामहाराजाको जग्गा सरकारीकरण गर्न ट्रष्ट गठन भएयता भाडा उसैले उठाउँदै आएको थियो ।

भाडादर एकदमै सस्तो रहेका कारण ट्रष्टले उक्त कम्पनीसँगको ठेक्का सम्झौता नवीकरण नगर्ने अडान लियो ।

२०७७ असार १ गतेको ट्रष्टको बैठकले उक्त कम्पनीसँग सहकार्य तोड्ने र काठमाडौं महानगरपालिकासँग नयाँ सम्झौता गर्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस ग¥यो।

असार २ गते मन्त्रिपरिषदले ट्रष्टको सिफारिस सदर गरेपछि काठमाडौं महानगरपालिकालाई उक्त प्लाजा दिने प्रक्रिया अघि बढेको छ।

काठमाडौं महानगरपालिका मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा बुझाउने सर्तमा प्लाजा लिने प्रक्रियामा छ ।