राजनीतिक समस्या समाधान हुन्छ लगानीकर्ता चिन्तित हुनु पर्दैन

३० चैत्र, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमै समाधान हुने हुँदा लगानीकर्ताले चिन्तित हुनु नपर्ने जानकारी दिएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तरिकाबाटै हल हुने बताएका हुन् ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा उत्पन्न राजनीतिक परिस्थितिले लगानीकर्तामा अन्योल सिर्जना गरेका थिए ।
कोरोनाभाइरसको महामारीका बीच उत्पन्न राजनीतिक अन्योललाई विश्व बैंकले समेत चासोको साथ हेरेको छ । त्यस चासोलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीको दोस्रो वेवबाट नेपाली जनता र अर्थतन्त्रलाई बचाउन समेत सरकार क्रियाशील रहेको बताए ।

उनले एक पटक खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप वितरण गर्न र एक पटक पनि नलगाएका नागरिकलाई खोप उपलब्ध गराउन सरकारले काम गरिरहेको समेत जानकारी दिए ।
अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक पुनरुत्थान, पुनर्संरचनाबारे सुझाव दिन परामर्श समितिले काम गरिरहेको जानकारी गराउँदै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्र र विकास साझेदार संस्थासँग समन्वय गरेरै अगाडि बढ्ने उल्लेख गरे ।
सरकारले नयाँ बजेटको तयारीमा जुटेको भन्दै उनले अबको बजेट समेत कोरोनाको प्रभाव न्यूनीकरणा केन्द्रित हुने बताए ।