भोलिदेखि मनकामना केबलकार सञ्चालनमा आउने

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्चालनमा आउन लागेको हो ।
यसअघि चैत्र ३१ गते मंगलबारसम्मका लागि बन्द हुने जानकारी गराइए पनि मर्मतकार्य समयमै सकिएकाले भोलि देखि पुन सुरू हुने भएको छ ।

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न भएकोले चैत्र ३० गते बाटै सञ्चालनमा आउने जानकारी दिएको हो ।

चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार पाँच दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।
२३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो ।

गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन २०५५ साल मंसिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको हो ।