सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेन

सर्वोच्च अदालत बार एशोसिएसन

२७ चैत्र, काठमाण्डौ । न्याय परिषद्ले २८ फागुनमा सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो तर आज सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको छ । र, यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्र बुझाएको छ ।

अब उनीहरुको संसदीय सुनुवाइ गर्ने तयारी छ । सुवेदीको योग्यता नपुगेको भन्दै समितिमा उजुरी समेत परेको छ ।

बुधबार बसेको सर्वोच्च बारको सल्लाहकार समितिको बैठकले पनि सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको थियो । त्यसअनुसार सर्वोच्च बारले शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ ।

सुवेदीको संविधानको धारा १२९ को उपधारा ५ अनुसार योग्यता नपुगेको र संविधानको मर्म र भावना विपरीत उनको नाम सिफारिस भएको भन्दै सर्वोच्च बारले यसप्रति गम्भीर हुन आग्रह गरेको छ । ‘उनीभन्दा धेरै सिनियर न्यायाधीशहरु उच्च अदालतमै छन्, उनलाई योग्यता नपुगे पनि सिफारिस गरेकाले संसदीय समितिले हेरोस् भनेर भनेका हौं’ सर्वोच्च बारका एक सदस्यले भने ।

सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा पनि मुद्दा परेको छ । यसबारे ३० चैतमा फैसला आउँदैछ ।