२१ करोड रुपैयाँको लगानीमा बन्दै गरेको पुल आज बिहान भत्कियो

२४ चैत, काठमाण्डौ । चितवनको ठिमुरालाई देवघाटसँग जोड्ने निर्माणाधीन पुल भत्किएको छ । भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने १० मिटर चौडाई भएको २२० मिटर लामो पुल आज मंगलबार बिहान करिब ४ बजे तिर भत्किएको हो ।

ठेकेदारको लापरबाहीका कारण पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले जानकारी दिए । उनले प्राविधिक त्रुटिका कारण भत्किएको जानकारी प्राप्त भएको बताउँदै वास्तविक कुरा प्राविधिक टिमले अध्ययन गरेपछि थाहा हुने बताए ।

उक्त पुल असार मसान्तभित्र सक्ने गरी काम अघि बढेको थियो ।

भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा आज बिहान पुल भत्किएको उनले बताए । पुल भत्किएपछि के कारणले पुल भत्कियो भन्ने विषयमा अध्ययन सुरू भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयले प्राविधिक समितिले भत्किनुको कारण पत्ता लगाउने काम भइरहेको उल्लेख गरेको छ ।

पुलमा ४ वटा स्पान राखिँदै छ । तीन वटा कंक्रिटको छ भने नदीको बीचमा पर्ने गरी एउटा फलामको स्पान राखिएको
छ ।

उक्त पुल करिब २१ करोड रुपैयाँको लगानीमा बन्दै थियो ।

२०७४ साल सम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७१ सालमा पुलको शिलान्यास गरिएको थियो। तर समयमै काम नसकिएपछि निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७८ सालको असार मसान्तसम्मलाई सारिएको थियो।