राजीनामा गर्नुभन्दा अगाडी अन्तिम पटक क्याबिनेट बैठक बसौन

मुख्यमन्त्री शाही

२४ चैत, काठमाण्डौ । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री भएका तीनै जनाले आज राजीनामा दिन लागेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिएर राजीनामा दिन एमाले मन्त्रीहरूलाई शाहीले अन्तिम क्याबिनेट बैठक बस्न प्रस्ताव गरेका छन् ।

राजीनामा दिन लागेका मन्त्रीहरुका अनुसार हामीले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छौं । मुख्यमन्त्रीज्यूले अन्तिम पटक क्याबिनेट बैठक बसौं न भन्नु भएकाले हामी बैठकमा जाँदैछौं, अर्थमन्त्री प्रकाश ज्वालाका अनुसार बैठकपछि राजीनामा बुझाउँछौं ।

मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन् ।

एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीको मन्त्रिपरिषद पनि अल्पमतमा पर्नेछ । त्यसपछि उनी सत्तामा टिकिरहने सम्भावना छैन ।

यसअघि चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकबाट नै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको घोषणा गरिएको थियो ।

उक्त निर्णयमा माधवकुमार नेपाल समूहका सांसद उपस्थित थिएनन् । केही सांसदले समर्थन कायमै रहेको बताउँदै आएको थिए । आइतबारको बैठकमा भने दुबै पक्षका १९ जना सांसद सहभागी थिए ।

संविधानमा भएको व्यवस्था अनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र संसदमा विश्वासको मत लिनका लागि सरकार प्रमुखले प्रस्ताव गरिसक्नुपर्छ ।

२०७४ मा नेकपा एमाले र माओवादी केन्द्रको एकताको पूर्वतयारीका बेला कर्णालीमा रहेका २० जना एमाले सांसदमध्ये १९ जनाको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिएको थियो ।