ऐनमहरद्धारा माधव पक्षीय तीन जना विद्यार्थी नेतालाई कारवाही

२४ चैत, काठमाण्डौ । नेकपा एमाले ओली समूहको भातृ संगठन अनेरास्ववियूले एमाले माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको छ ।

ओली अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई कारवाही गरेका हुन् ।
लामासहित नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए ।

उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महरले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको पनि उल्लेख गरेका छन् । संगठनको निर्देशन अटेर गरेको आरोप पनि लगाएका छन् ।