मुलुकभरमा २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२३ चैत्र, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको परीक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा ९० जना बढी हो । हिजो ३४५६ जनामा परीक्षण गर्दा १७६ जना संक्रमित भेटिएका
थिए ।

आज भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् ।

नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७८ हजार २१० रहेको छ । जसमध्ये २ लाख ७३ हजार ३४२ जना निको भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म ३०३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।