देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढ्यो

२३ चैत, काठमाडौं । देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो ।

वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ ।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ ।

एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो ।

स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ ।

विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवा–धुलो प्रदुषण बढेको बताएका छन् ।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले देशभरिका विद्यालय बन्द गरेको थियो ।

आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ ।