माधव पक्षीय युवा संघ द्धारा अध्यक्ष ओलीलाई युवा संघ नेपालको नेतृत्व परिवर्तन भएको जानकारी पत्र

२० चैत्र, काठमाण्डौ । नेकपा एमाले पछिल्लो चरणमा फुटको अन्तिम संघारमा रहेको छ । अध्यक्ष ओलीले माधव नेपाल पक्षीय नेता तथा कार्यकर्तालाई एकपछि अर्को गरी कारवाही गर्दै पार्टीमा एकलौटी ढंगले चल्न थालेपछि एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि देशैभरी आफ्नो समूहको छुट्टै कमिटी गठन गरेर अगाढी बढ्ने क्रममा माधव पक्षीय युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ७ चैतमा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन भएको जानकारी संघले अध्यक्ष ओलीलाई दिएको हो ।

महासचिव दीपक जीएमले पत्र लेख्दै अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी दिएका हुन् । युवा संघको विधान, झण्डा, लोगो र छाप प्रयोग गर्ने अधिकार पनि आफूहरुसँग मात्रै भएको दावी पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा युवा संघको झण्डा, नाम र विधान अरुले पनि प्रयोग गरिरहेकाले त्यस्तो कार्य रोक्न माग समेत गरिएको छ । ‘राष्ट्रिय युवा संघको नाममा पूर्व युवा संघ नेपालका र पूर्व वाइसीएलका केही व्यक्तिहरुले हाम्रो संगठनको झण्डा र लोगो समेत मिल्दो राखी गतिविधि गरेको भन्ने जानकारीमा आएको हुँदा त्यस्तो नगर्न÷नगराउन समेत पार्टीले निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं’, पत्रमा उल्लेख छ ।

नेता नेपाल समूहका युवा संघले राष्ट्रिय भेला गरेर नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको छ