पार्टीमा निषेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनी गर्नुपर्छ

एमाले नेतृ अष्टलक्ष्मी शाक्य

१८ चैत, काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा उनले भनिन्,‘तपाईं हाम्रै कारणले गर्दाखेरि हामीभित्रकै कारणले गर्दाखेरि आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं । कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफैं, आफैं लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं । त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्मसमीक्षा गर्ने कि नगर्ने र हामीले यस्तो कुरा सच्याउने कि नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढ्नु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमूल परिवर्तन गरेर देशलाई अगाडि बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै
पर्छ । हामी रूपान्तरित हुनैपर्छ । हामीले निषेधको राजनीति गुटको राजनीति गर्नु हुँदैन ।

नेता शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताइन् । पार्टीमा निषेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनी गर्नुपर्ने बताइन् ।