स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा लागू

१६ चैत, काठमाडौं । सरकारले यसै आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको छ । २०७२ सालमा गठन भएको स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।

यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिने छ । त्यसपछि काठमाडौं र ललितपुर जिल्लामा पनि लागू गर्न लागिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव लम्सालले जानकारी दिए ।

बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा गराउन सक्नेछन् ।

पांच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्य ७ सयका दरले बीमा रकम थप गर्नुपर्नेछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । थापाले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइने बताए ।

अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् भने यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेका छन् ।