प्रदेश २ मा कोरोना भाइरस थ्रोट स्वाब परीक्षण तिब्रगतिमा

कदर समाचार
२२ चैत, जनकपुर । प्रदेश नम्बर २ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिमध्ये ७९ को थ्रोट स्वाब परीक्षण गरिएको छ । जसमध्ये ३८ को नेगेटिभ परिणाम आएको छ भने ४१ जनाको रिजल्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । विभिन्न देशबाट नेपाल फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम भने जारी नै छ । यो संख्या बढ्दै गइरहेको छ ।
अहिलेसम्म संक्रमणको आशंकामा ७ सय ७१ जना शंकास्पद व्यक्तिलाई प्रदेश अन्तर्गतका जिल्लामा बनाइएका १ सय २७ वटा क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए । निर्देशनालयका अनुसार रौतहटमा १ सय ८२ जनालाई बाहिर निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ भने ४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
त्यस्तै, बारामा ४० जनालाई क्वारेन्टाइनमा, ५ जनालाई आईसोलेशनमा राखिएको उनले बताए । उनकाअनुसार बारामा अहिले १६ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्सामा २१ जना क्वारेन्टाइनमा र ४ जना होम क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै ४ जनालाई आईसोलेशनमा राखिएको छ । सप्तरीमा २ सय २३ क्वारेन्टाइनमा राखिएको छ भने सिरहामा १ सय ४१ जना क्वारेन्टाइनमा र ७२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
धनुषामा क्वारेन्टाइनमा ७४ जनालाई राखिएको छ भने २० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । आइशोलेसनमा ५ जनालाई राखिएको छ । त्यस्तै, महोत्तरीमा ४ सय ४९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ३७ जनालाई राखिएको छ । सर्लाहीस्थित क्वारेन्टाइनमा ५३ जना रहेका छन् भने ३२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको झाले जानकारी दिए ।
झाका अनुसार प्रदेशमा ९ सय २५ जना होम क्वारेन्टाइनमा रहेका छन् भने १४ जनालाई आइसोलेशनमा राखिएको छ । यता, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट थ्रोट स्वाब परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएका ९ जनाको परिणाम नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै, प्रादेशिक अस्पताल जनकपुरमा रहेका ४ जना शंकाष्पद बिरामीको थ्रोट स्वाब परीक्षण गरिएको र उनीहरूको रिपोर्ट आज साँझसम्म आउने झाले बताए ।