१६ चैत, काठमाडौं । मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ ।
जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो ।
न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो ।
अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउतविरुद्ध मुलुकी फौजदारी संहिता, राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ । राउतसंगै यो मुद्दामा कृष्ण यादव र कैलाश महतो प्रतिवादी थिए ।