बाग्लुङ होली झडपमा हराएका युवाहरु सम्पर्कमा

१६ चैत, काठमाडौं । हिजो होलिको दिन बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा आएका छन् ।

बल्देधुरीमा होली मनाउने र बनभोज खाने क्रममा बाग्लुङको निसीखोला गाउंपालिका– ७ राजकुत र बडीगाड गाउंपालिका– १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो ।

झगडामा परी निसीखोला–७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो। त्यस्तै १० जनाभन्दा बढी बेपत्ता भएका थिए ।

सम्पर्कमा आएका ६–७ जना सामान्य घाइते रहेको बुझिएको छ ।

दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई भने प्रहरीले अझै नियन्त्रणमा लिएको छैन ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक तथा घाइतेहरूको खोजी र उद्धार गरेर अनुसन्धानमा जुटेको बताए ।

घटनाका प्रत्यक्षदर्शीसँग बुझ्दा होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झडप भएको हो ।
’प्रारम्भिक अनुसन्धानमा हेर्दा पूर्वनिर्धारित कुनै योजना नभई एउटा समूहकी महिलालाई अर्को समूहका युवाले रङ लगाउन खोज्दा घटना भएको देखिन्छ ।