रामेछापबाट कोरोना भाइरस नियन्त्रण कोषमा १ करोड ८६ लाख रुपैयाँ सहयोग

कदर समाचार
२२ चैत, रामेछाप । कोरोना भाइरसको महामारीलाई निस्तेज गर्नका लागि बनेको कोरोना भाइरस नियन्त्रण कोषमा रामेछापका विभिन्न स्थानीय तहले कोरोना भाइरस नियन्त्रण तथा उपचार र राहत कोष स्थापना गरेका छन् ।
दुई नगरपालिकासहित कूल ८ वटा स्थानीय तह रहेको रामेछाप जिल्लाका ५ वटा स्थानीय तहले स्थापना गरेको कोषको रकम एक करोड ८६ लाख रुपैयाँ पुगको छ ।
जिल्लाको मन्थली नगरपालिकाले १ करोड रुपैयाँको कोष स्थापना गरेको छ । यसैगरी रामेछाप नगरपालिकाले कोरोना विशेष कोषमा २५ लाख र तत्कालको लागि १० लाख रुपैयाँ बराबरको रकम राखेको छ ।
खाँडादेवी गाउँपालिकाले १५ लाख, गोकुलगंगा गाउँपालिकाले १० लाख र सुनपाति गाउँपालिकाले २६ लाख बराबरको कोष स्थापना गरेको सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुले जानकारी दिएका छन् ।
कोषको रकम आवश्यक उपकरण, औषधि खरिद तथा प्रभावितहरुलाई राहात वितरणमा खर्च गरिने खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।
जिल्लाका दोरम्बा, उमाकुण्ड र लिखु तामाकोसी गाउँपालिकाले भने यस्ता कोष स्थापना गर्न बाँकी रहेको छ । ती पालिकाहरुमा पनि कोष स्थापनाको तयारी भइरहेको अधिकारीहरुले बताएका छन् ।
उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले पालिकामा आइसोलेसन सेन्टर, क्वारेन्टाइन स्थपना, आवश्यक औषधि र उपकरण स्वास्थ्य संस्थामा पुर्याउने काम भइसकेको बताए ।
यस्तै लकडाउनको कारण दैनिक गुजारा चलाउन समस्या पर्नेहरुको तथ्य संकलनको काम पनि सुरु भएको उनले बताए । यसपछि छुट्टै कोष बनाएर रोकथाम, नियन्त्रण तथा राहात वितरणको काम सुरु गरिने उनले बताए ।
रामेछाप जिल्लमा हालसम्म क्वारेन्टाइनमा बस्नेहरुको संख्या ८० पुगेको छ । जिल्लामा ५३ वेडका आइसोलेसन कक्ष र २ सय ६६ बेडका सामुदायीक क्वारेन्टाइन स्थापना भएका छन् । क्वारेन्टाइनमा बस्नेहरु अधिकांस आफ्नै घरमा बसेका छन् ।