ईश्वर पोखरेलद्धारा घनश्याम भुसाललाई पठाएको स्पष्टीकरण पत्रको व्यहोरा यस्तो छ

९ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमाले ओली समूहको एमाले पक्षीयले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई स्पष्टीकरणका लागि पत्र कोटेको छ ।

महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।

पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको छ ।

अस्ति शनिबार बसेको सत्तारुढ एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
तर सो बैठकमा माधव पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिएनन् ।

माधव पक्षले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै शनिबारको बैठकमा गएननन् ।

एमाले महासचिव पोखरेलले एमाले उप–महासचिव घनश्याम भुसाललाई पठाएको स्पष्टीकरण पत्रको व्यहोरा यस प्रकार छ :

 

श्री घनश्याम भुसाल, सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालय

तपाईं, घनश्याम भुसालले हामो पार्टी विधानविपरीत पार्टी तथा पार्टी नेतृत्वको सरकारविरूद्ध देहाय बमोजिमका क्रियाकलापहरूमा नेतृत्व र अगुवाई के कति कारणले गर्नु भएको हो ?

१. तपाईंले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरूद्धमा ’१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रूतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?

२. पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरूपयोग गरी मिति २०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गर्न अग्रसरता लिएको, पार्टी कमिटी तथा भातृसंगठनहरूको कथित विभिन्न भेलाहरू गरी समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाइ किन गर्नुभएको हो ?

३. सम्मानीत सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीका दशौं, एघारौं र बाहौं बैठक र संसदीय दलका बैठकहरूमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशनविपरीत पार्टी र जनसंगठनहरूको नाम, झण्डा र चिन्हको दुरूपयोग गरी गराई कथित राष्ट्रिय कार्यक्रम र भेला तथा विभिन्न नामका कथित भेलाहरू आयोजना गर्न अग्रसरता गरी पार्टी एकता विरोधी प्रस्ताव प्रस्तुत एवम् पारित गर्नु र गराउनुको कारण के हो?

माथि उल्लेखित क्रियाकलापहरूका साथै तपाईंले पार्टी हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पार्टी विधान तथा निर्णयविपरीत गुटबन्धी तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्यूत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरू सञ्चालन गरे÷ गराएको, पार्टी कमिटीको गोपनीयता भंग गरे गराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे÷गराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरू निरन्तर गरिरहेको÷ गराइरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सम्मिलित गराएको÷उक्साएको, अवान्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहीतविपरीत काम गरे÷गराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरे÷गराएको समेत प्रष्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरी÷गराई पार्टी हित विपरित, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको विरूद्ध पार्टीले राष्ट्रहीत तथा जनहीतका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरू गरे÷गराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरू के कति कारणले निरन्तर गर्नु गराउनु भएको हो ?

मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाहौं बैठकको निर्णय बमोजिम माथि उल्लेखित विषयहरूमा तपाईंले पार्टी विधानको ४९ (क) को १, २, ३, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईंलाई पार्टी विधान बमोजिम कारबाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरूमा स्पष्ट पार्न तपाईंलाई तीन दिनको समय दिइएको छ। तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारबाही हुने व्यहोरा अवगत गराइन्छ ।