७ चैत्र, चितवन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रधानमन्त्री बन्न आफू लालयित नभएको दाबी गरेका छन् । तर टाउकोमा आइहाले भाग्नेवाला पनि आफू नरहेको उनले बताए ।
पार्टीको तरुण विभागले चितवनमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले भने,‘सबैले शेरबहादुर देउवा प्रधानमन्त्री किन बनेन भनिरहेका छन् तर म प्रधानमन्त्री बन्न लालयित छैन, टाउकोमा आयो भने भाग्नेवाला पनि छैन ।
उनले सरकारको नेतृत्व गर्नमा भन्दा निर्वाचनको तयारीमा ध्यान दिनु उपयुक्त हुने बताए ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतमा रहिरहने भन्दै उनले सरकारमा जान लालयित हुनुपर्ने अवस्था नरहेको बताए ।
सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले पुरानै अवस्थामा फर्कियो, प्रचण्डजीले समर्थन फिर्ता गर्नुभएको छैन, माधवजी कसरी अघि बढ्ने हो पनि थाहा छैन,’ उनले भने, ‘उनीहरू कसरी अघि बढ्छन् हेरौं ।
सरकार भन्दा पार्टी बनाउनतिर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको समय आउन लागिसकेको भन्दै जनताको माझमा जान देउवाले आग्रह गरे ।
‘आपसी मतभेद र झगडा त्यागेर अघि बढ्नुस्, जनताले हामीलाई बहुमत दिन्छन् तपाईंहरू अब जनताकोमा जानुस् ।