७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सत्तारुढ एमालेको ‘केन्द्रीय कमिटी’ बैठकले माधव पक्षीय ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच बालुवाटारमा बसेको बैठकले नेता नेपालसंगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो, त्यसमा चार मुख्य जिम्मेवार रहेको बालुवाटार बैठकको ठहर छ । भेला नगर्न निर्देशन हुंदाहुंदै नेकपा एमालेको व्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारलाई बताएका छन् ।
नेता ज्ञवालीका अनुसार चार नेताले दिने जवाफका आधारमा अरु प्रक्रिया अगाडि बढ्ने बताए । त्यस्तै उनले, ‘फागुन २३ अगाडिका गतिविधिलाई एक ढंगले हेर्न सकिएला, तर त्यसपछि पनि लगातार गुटबन्दी गरिरहनु कदापि क्षम्य मान्न सकिदैन ।
बांकी नेताहरुको हकमा गम्भीर आत्मसमीक्षाका साथ पार्टीमा फर्किने विश्वास राखेको उनले बताए । पार्टीको नाममा समानान्तर गतिविधि भए विधान आकर्षित हुने समेत उनले बताए ।
बैठकले पदाधिकारी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिएको छ ।
बालुवाटारको बैठकले २–६ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णयअनुसार २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ ।
अब अध्यक्ष र महासचिवबाहेक नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी रहेनन् । पदाधिकारी र स्थायी कमिटी प्रस्ताव गर्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
नेताहरुको कार्यविभाजनको प्रस्ताव ल्याउन विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीलाई जिम्मा दिइएको
छ ।
बैठकले जिल्ला कमिटीहरुलाई जिल्ला संगठन कमिटीमा रुपान्तरित गर्न र समयै अधिवेशन गर्ने जिम्मा प्रदेश कमिटीहरुलाई दिइएको छ भने जनवर्गीय तथा पेशागत संगठनलाई पनि महाधिवेशन–राष्ट्रिय सम्मेलनतिर उन्मुख गर्ने निर्णय गरेको छ ।