सिंगटी हाइड्रो इनर्जीको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला

६ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ ।

कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बांकी कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खोलेको छ ।

इच्छुक आवेदकले कम्तीमा १० र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । अंकित मूल्य १ सयमा निष्कासन हुने यो कम्पनीको आइपिओ २ लाख ६९ हजार ७ सय जनाले पाउने छन् ।

छिटोमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।
मेरो सेयर र आफ्नो खाता रहेको आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ । सेयर बिक्री प्रवन्धकका रुपमा मेगा क्यापिटल रहेको छ ।

कस्तो छ कम्पनी/आयोजना ?
दोलखाको कालिन्चोक गाउंपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीको दावी छ ।

कुल २५ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड छ । कुल ५ अर्ब ५० करोड रुपैयां लागत लाग्ने अनुमान छ ।

७० प्रतिशत सेयर संस्थापक समूहको छ भने १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि र बांकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुन लागेको हो। कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड छ ।

केयर नेपालले कम्पनीको आइपिओलाई बीबी माइनसको रेटिङ प्रदान गरेको छ । यसले दायित्व पुरा गर्न कम्पनी मध्यम अवस्था रहेको संकेत गर्छ ।