यस्ता डाक्टर हुनुभन्दा नहुनु बेस

कदर समाचार
२१ चैत, पोखरा । बाग्लुङको ताराखोला गाउँपालिकाका ६ वर्षीय बालक होमराज कँडेलको आँत विगत एक सातादेखि तातेको छ । गाउँकै स्वास्थ्य चौकीमा उपचार गराउँदा उनलाई निको भएन । त्यसपछि गाउँनजिकैको आरोग्य अस्पतालामा
लगे । त्यहाँ सबै चेक गर्दा निमोनिया भएको आशंकासहित अस्पतालले गण्डकी प्रदेशकै ठूलो निजी अस्पताल मणिपाल शिक्षण अस्पताल ‘रिफर’ गर्यो । मणिपाल अस्पतालले पनि भर्ना नलिई उल्टै सरकारी अस्पतालमा ‘रिफर’ गरिदियो । मणिपालले रिफर गरिदिएको अस्पताल गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसम्म एम्बुलेन्समा हिजो बिहीबार राति पुगेका बालक होमराजको अस्पतालले भर्ना नै गरिदिएन । अस्पतालभित्र पनि बस्न पाएनन् । रात बाहिर खुला आकाशमुनि कटाए । ज्वरो र खोकीले ग्रस्त बालक ६ दिनदेखि पानीमात्र खाएका छन् । बालकलाई लिएर आउने वृद्ध हजुरबुवा र बुवाले पानी बाहेक केही खान पाएका छैनन् । कारण–बाहिर होटल, रेष्टुरेन्ट बन्द छन्, भित्र अस्पतालले भर्ना नै लिँदैन ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यस क्षेत्रीय अस्पतालमा अहिले कोरोना भाइरसको जाँचका लागि पिसिआर मेसिन राखिएको छ । जहाँ कोरोना भाइरस परीक्षण पनि गर्न थालिएको छ ।
रातको समय एउटा डाक्टर आउँछन्, उनीहरूलाई अस्पताल प्रांगणमा टाँगिएको चिनियाँ टेन्टमा बस्न भन्छन् । फेरि अर्को आउँछन्, यहाँ बस्न पाउँदैन भनेर हप्काएर बाहिर निकाल्दिन्छन् । कोरोना भाइरसका आशंकामा मौसमी फ्लूका बिरामीले समेत उपचार नभएको यो पहिलो घटना होइन ।
नेपालमा कोरोना भाइरस देखिन थालेदेखि नै पोखराका सरकारी र निजी अस्पतालको ‘रवैया’ यस्तै छ ।
नातिको अहिलेसम्म पनि डाक्टरहरूले उपचार नगरेको देख्दा मन अमिलो भएको छ हजुरबुवाको । अनि अस्पताल परिसरमै आँसु झार्छन् उनी । अझ डाक्टरको व्यवहारले मन कुडिएको छ उनको । डाक्टरहरूको व्यवहार देख्दा रून मन लाग्छ’,परिसरमै निराश मुद्रामा रहेका हजुरबुवा चित्र कँडेल भने,‘अझ डाक्टरको गाली र व्यवहारले मन कुडिन्छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले भने क्वारेन्टाइन नभएकाले उनीहरूलाई बाहिर राख्नुपरेको दाबी गरे । हामीले भर्ना नलिएको होइन, लिएका
छौं । उहाँको उपचार पनि गरेका छौं । क्वारेनटाइनमा बस्छौं भन्छन्, यहाँ कहाँ छ क्वारेनटाइन ?,’ डाक्टर आचार्यका अनुसार हिजो राति त्यो बालकलाई मैले नै टेन्टमा राख्न भनेको हो । विज्ञ डाक्टर आएर जाँच्नु पर्ने हुन्छ । आज जाँचेको छ । ज्वरो घटेको छ । उनले अस्पताल होटल नभएको पनि तर्क गरे ।
उहाँहरू भित्रै बस्छु भन्नुहुन्छ, अस्पताल होटल होइन नि । बाहिर होटल नखुलेर उहाँहरू बस्न नपाउनुभएको हो ।
बारम्बार अस्पतालले बिरामी नलिने घटना दोहोरिरहँदा समेत उनीहरूलाई जवाफदेही बनाउने पोखरामा कुनै निकाय छैन ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघीय सरकार मातहत छ । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ ।

प्रधानमन्त्री कार्यालयबाट आफू मातहतका प्रतिष्ठानमार्फत् चलेको अस्पताललाई जवाफदेही बनाउन अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन । कोरोनाभाइरस जाँच्ने मेसिन पिसिआरसमेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको यस अस्पतालमा नराख्न प्रतिष्ठानका कुलपतिदेखि अस्पताल निर्देशक र डाक्टरले लबिङ गरेका थिए । प्रदेशकै ठूलो अस्पतालले समेत आफूहरू कोरोना जाँच्न सक्षम नरहेको बताइरहेका थिए ।
हेलिकप्टरबाट अस्पताल परिसरमा पिसिआर मेसिन झार्दा समेत अस्पतालले नजिकैको क्षयरोग उपचार केन्द्रमा लैजान लबिङ गरेका थिए ।
काठमाडौंबाट मेसिनसहित आएका विज्ञ टोलीले अस्पतालकै ल्याबहलमा राख्ने भनेपछि उनीहरू पछाडि हटेका थिए ।
पोखराका सरकारी र निजी अस्पतालले सामान्य रुघाखोकी र ज्वरोको बिरामीको समेत उपचार नगर्दा नागरिकहरूले सास्ती भोग्नुपरेको छ । यसतर्फ सरकारको किन ध्यान गएको छैन । यस्ता चिकित्सकलाई कानुनी कारवाहीमा ल्याएर कारवाही किन गरिदैन ।