२७ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले आज अपरान्ह ५ बजे बालुवाटारमा भेटघाट गर्ने भएका छन् ।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न लागेका हुन् । नेताहरू राजेन्द्र महतो र अशोक राई पनि भेटवार्तामा
जानेछन् ।
जसपा नेता केशव झाका अनुसार प्रधानमन्त्रीसँग शीर्ष नेताले भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
साथै आज बसेको जसपा पदाधिकारी बैठकले शुक्रबार संसदीय दलको बैठक राखेको छ । पार्टी एकीकरणपछि संसदीय दलका नेता चयन गर्न बैठक बोलाइएको हो ।
राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि संसदीय दलका नेता चुनिएका छैनन् ।
जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसँग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ । साथै पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको छ ।