Breaking News

टुँडिखेलमा बढाइँ कवाजसहित यसरी मनाइँदैछ सेना दिवस

सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रुपमा रहने गर्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको
छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन ‘चार जात, छत्तिस वर्ण’को फूलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरुपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ४१ सैनिकबाट विश्व शान्तिका लागि योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६८ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ सैनिक गम्भीर घाइते छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ८७ महिला सैनिकसहित पाँच हजार १३९ हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल चौथो स्थानमा छ । नेपालले संयुक्त राष्ट्रसङ्घलाई आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा एकै पटक शान्ति सैनिक पठाउनसक्ने प्रतिबद्धता जनाइसकेको छ ।

विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागिसमेत नेपाल पेशागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।
वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कैयौँ मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गर्छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ ।

सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश दू्रतमार्गको आम भइरहेको छ ।

दरबार, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ ।

 

रासस