२५ फागुन, कैलाली । नेकपा पार्टीका बारेमा फागुन २३ गते आइतबार सर्वोच्च अदालतले गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भंग भएसंगै प्रदेश सरकारमा पनि संकट देखा पर्न थालेको छ । यसै क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको छ । तत्तकालीन नेकपा माओवादी केन्द्र र नेकपा (एमाले) बीच एकीकरण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट तत्तकालीन माओवादीका नेता चिलोचन भट्ट सो प्रदेशमा मुख्यमन्त्रीको रुपमा चिर्वाचित भएका थिए । आज नेकपा डिजोल भएर पुनः नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा स्थापित भएपछि यस्तो अवस्था आएको हो ।
५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा एमालेबाट सभामुखबाहेक २४, माओवादी केन्द्रबाट १४, नेपाली काँग्रेसबाट १२ र जनता समाजवादी पार्टीबाट दुईजना सांसद छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा माओवादी केन्द्रका हुन् । प्रदेशसभामा उनको दलका सांसद १४ जनामात्र रहेकोमा सरकार टिकाउन उनलाई थप १३ सांसदको समर्थन आवश्यक पर्दछ । एमालेले समर्थन फिर्ता लिएको अवस्थामा उनले आफ्नो नेतृत्वको सरकार जोगाउनका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको समर्थन लिनुपर्ने हुन्छ ।