जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ

२४ फागुन, काठमाण्डौ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न सशक्तिकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आजको यस अवसरमा महिला दिदीबहिनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक आह्वान गर्दछु ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको पनि बताएका छन् ।

‘ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ ।

जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरु कायमै रहेको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ ।