२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा रडाको भएपछि अविश्वासको मत लिनुको सट्टा गएको पुस ५ गते संसद बिघठन गरेपछि परेको रिटमा सर्वोच्च अदालतले पुनस्थापना गरिदिएपछि पहिलो पटक आज बस्न लागेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने भएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा संसद बैठक बस्न लागेको छ । बैठकका लागि संसद भवन पुगेका प्रधानमन्त्री ओली भने केहीबेर अघि नै संसद भवनाबाट निस्किसकेका छन् ।
बैठक नै सुरू नभई प्रधानमन्त्री किन निस्कनु भयो भन्ने प्रश्नमा उनीनिकट सांसद सुवास नेम्वाङले पटक–पटक खबर गर्दा पनि सभामुखले बैठक सुरू नगरेपछि प्रधानमन्त्री बाहिरिएको बताए ।
आजको बैठक धेरैमा १५ मिनेट बस्ने हो । राष्ट्रपतिले बोलाएको समय ४ बजे नै बैठक सुरू हुनुपर्थ्यो,’ नेम्वाङले भने,’त्यही भएर प्रधानमन्त्री ४ बजे नै आउनुभएको थियो । भित्र कुरेर उहाँले पटक–पटक सभामुखलाई बैठक सुरू गर्न खबर गर्नुभयो तर सभामुखले बैठक सुरू गर्नु भएन ।
धेरैबेर कुर्दा पनि बैठक सुरू नभएपछि प्रधानमन्त्री निस्किएको नेम्वाङले बताए । सभामुख अग्नि सापकोटाले बैठक चलाउन किन ढिला गरे भन्ने उनले खुलाएनन् ।