नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा

२१ फागुन, काठमाडौं । ल्होसारका कारण बन्द नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको
छ ।

नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउंदै गरेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।

भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउने बारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए ।

यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध देखिएको छ । नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने दुईवटै नाका (रसुवागढी र तातोपानी) बाट अहिले पनि कोटा प्रणालीमा माल वस्तु आयात मात्रै हुने गरेको छ । चिनियांकै कारण दुवै नाका भएर हुने निर्यात ठप्प छ ।