नेकपा दुई खेमाका नेता घनश्याम भुसाल र शंकर पोखरेलबीच सिंहदरबारमा डेढ घन्टा कुराकानी

२० फागुन, काठमाण्डौ । नेकपा अहिले दुई समूहमा विभाजित भएको छ । त्यसैको परिणामस्वरुप नेकपाकाका शीर्ष नेताहरुबीच सम्वाद र कुराकानी बन्द भएको बेला आज ओली समूहमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भेट्न सिंहदरबार पुगे ।

संसद सचिवालयको एउटा कोठामा दुई नेताबीच झण्डै पौने घण्टा कुराकानी भएको छ । नेकपाको एकता जोगाउनुपर्छ भन्ने मत राख्ने दुई नेताले एकअर्कालाई ‘भेटौं, कुराकानी गरौैं’ भन्दै आएका थिए । मुख्यमन्त्री पोखरेल बिहीबार नै बुटवल फर्किने तयारी थिए । त्यसअघि भुसाललाई भेटेका हुन् ।

स्रोतका अनुसार भेटमा दुबै नेताले पार्टी एकता जोगाउन मुश्किल भएको चिन्ता व्यक्त गरेका छन् । पार्टी एकता जोगाउनुपर्छ भन्नेमा पनि दुबैको समान धारणा छ ।

तर कसरी भन्नेमा सहमति छैन । भुसाल निकट एक नेताका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बल्ल पार्टी एकता जोगाउन उपायबारे छलफल गर्न सकिने धारणा राख्दै आएका छन् ।

तर पोखरेलले राजीनामाबारे बोलेका छैनन् ।

ओली समूहका नेता पोखरेलसंँग भएको भेटबारे सोध्दा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य भुसालले नियमित भेटघाट भएको प्रतिक्रिया दिएका छन् ।