नेकपा विप्लप नेतृत्वका नेता कार्यकर्तालाई पक्राउ नर्गन सरकारको निर्देशन

२० फागुन, काठमाडौं । सरकारले प्रतिबन्धित लगाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।

स्रोतका अनुसार समूहसंग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएका थिए ।

सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएसंगै प्रहरीले विप्लव समूहका नेता–कार्यकर्तालाई जहां भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।

विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको
थियो । समूहले वार्ताका लागि आउंदा विगतमा जस्तो नेता, कार्यकर्ताको गिरफ्तारी नहुने ग्यारेन्टी खोजेको स्रोतको भनाइ छ ।

तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वार्ताको भइरहेका वेला कसैलाई पक्राउ नगरिने र वार्तामा बसेर प्रतिबन्ध फुकुवा हुने आवश्वसन दिएका थिए । तत्कालै प्रतिबन्ध फुकुवा गर्ने विषयमा वालुवाटार विश्वस्त भइनसकेकाले वार्ताबाटै त्यसबारे टुङ्ग्याइने भनिएको गृह स्रोतको दाबी छ ।

हिजो एकैदिन दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी पक्षको दाबी छ । तर, विप्लव समूहले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।