राजनीतिक अस्थिरताको कारक भने स्वयं ओली नै हुन

नेकपा मसालका महामन्त्री, मोहनविक्रम सिंह

१३ फागुन, बुटवल । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने सिंहको भनाइ छ ।

एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ,’ सिंहले भने एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुन्छ, त्यसैले पारित हुन नदिन त्यतातिर ध्यान दिनुपर्छ ।
अब नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने सिंहले बताए । संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको विश्लेषण छ ।

प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेसमेत उनले बताए । नैतिकता भए ओलीजीले राजीनामा दिनुपर्छ, तर अहिले उहाँमा नैतिकता देखिएको छैन ।
प्रतिनिधिसभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने उनले अनुमान गरे । राजनीतिक अस्थिरताको कारक भने स्वयं ओली नै रहेको उनले बताए ।