सुनको भाउ निरन्तर हट्दा बजारमा सुन अभाव

१० फागुन, काठमाण्डौ । नेपाली बजारमा निरन्तर रुपमा सुनको मूल्य घटेपछि अहिले नेपाली बजारमा सुनको हाहाकार छ । मूल्य घटेका बेला उपभोक्ताले सुन किन खोजेकाले बजारमा अभाव भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।

एक समय प्रतितोला १ लाख ३ हजार पुगेको सुनको भाउ हाल ८९ हजार रुपैयांमा झरेको छ । अहिलेको समयमा सुनको भाउ ९० हजार भन्दा तल हुनु सस्तो मानिन्छ ।

हिजोआज दैनिक झण्डै १० किलो सुन अभाव भएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘बजार अहिले दैनिक २० देखि २२ किलो सुनको माग छ तर दैनिक १० किलो मात्रै आयात भइरहँदा अभाव चर्किएको छ’ उनले भने ।

अहिले अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएकाले सुनको मूल्य अझै घट्न सक्ने अध्यक्ष शाक्यले बताए । मूल्य घटेमा माग अझै बढ्ने र बजारमा अराजकता आउन सक्ने व्यवसायीहरु बताउंछन् । विहेको सिजनमा सुनको माग ४० किलोसम्म हुने व्यवसायीको भनाइ छ ।