आफ्नै भान्जालाई अपहरण गरी फिरौती माग गर्दै गर्दा मामा पक्राउ

९ फागुन, जनकपुरधाम । धनुषामा आफ्नै भाञ्जाको अपहरणको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

नगराइन नगरपालिका–६ जटही निवासी रमेश दासका ७ बर्षीय छोरा चन्दनको हिजो शनिबार अपहरण गरेको आरोपमा रामरतन भनिने लक्ष्मेश्वर दासलाई धनुषा प्रहरीले आइतबार सार्वजनिक गरेको हो । महोत्तरीको पिपरा गाउंपालिका ७ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ कटैयाचोरी बस्ने २० बर्षीय लक्ष्मेश्वर चन्दनका आफ्नै मामा हुन् ।

चन्दनको अपहरणमा संलग्नता रहेको भन्दै प्रहरीले लक्ष्मेश्वर, अपहरित बालकका पिता रमेशसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । तर घटनामा लक्ष्मेश्वरको मात्रै संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

शनिबार दिउँसो १ बजे घर अगाडि खेलिरहेका चन्दनलाई लक्ष्मेश्वरले चाउचाउ, बिस्कुट दिएर जनकपुरधामस्थित कोठामा ल्याएका थिए । कोठामा ल्याएपछि लक्ष्मेश्वरले नयां नम्बरबाट आफ्नी दिदी अर्थात चन्दनकी आमालाई फोन गरेर एक करोड रुपैयां फिरौती मागेका थिए ।

घटनाबारे जानकारी पाएपछि खोजी सुरु गरेको प्रहरीले खोजतलास गर्ने क्रममा लक्ष्मेश्वरको कोठाबाट चन्दनको उद्धार गरेको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए ।

‘आफ्नै भाञ्जाको अपहरण गरी १ करोड माग गरेका लक्ष्मेश्वर मोलमोलाई गरेर केही रकम लिने योजनामा थिए’ प्रहरी प्रमुख रानाभाटले भने, ‘तर उनको योजना सफल भएन ।

उनले केही रकम भएपनि पाउने हिसाबले बच्चाको अपहरण गरेको देखिएको प्रहरीको भनाइ छ । यद्यपी कपडा र फलामको व्यवसाय गर्दै आएका उनले रकम किन माग गरेको हो भन्ने कुरा खुल्न सकेको छैन ।

पक्राउ परेका लक्ष्मेश्वरविरुद्व अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनुसन्धान भइरहेको छ ।