Breaking News

बिराटनगरमा आज ओलीको शक्ति प्रदर्शन

८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् ।

प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड(माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाज पनि आन्दोलनमा छन् ।

प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ । सडकमा आमसभा गर्दा ट्राफिक जाम हुने भएपछि अस्पताल छेउको खाली जग्गामा सभास्थल बनाइएको आयोजक कमिटीले जनाएको छ ।

प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।

आज दिउंसो करिब १२ बजेबाट सुरु हुने सभामा प्रदेशबाट २ लाख जना सहभागी हुने नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । उनका अनुसार जनसभाबाट गाउं(गाउंबाट कार्यकर्ता ल्याउनका लागि एक हजार १५ बसको व्यवस्था गरिएको छ । विराटनगरको विभिन्न ६ स्थानबाट ¥याली निस्कनेछन् ।

‘दुई लाख समर्थक सहभागी हुने हाम्रो अपेक्षा छ,’ ढकालले भने ‘मोटरसाइकल मात्रै १० हजार आउछन्, निजी सवारी पनि धेरै आउछन् ।’

विराटनगरको जनसभा एतिहासिक हुने उनको दाबी छ । भिड धेरै हुने भएकाले दुई स्थानमा प्रधानमन्त्रीको सम्बोधन हेर्न मिल्ने गरी डिस्प्ले स्क्रिन राखिएको छ ।
केही दिन अघि लुम्बिनीमा शक्ति प्रदर्शन गरेको ओली समूहले निर्वाचनको सन्देश दिनका लागि विराटनगरमा सभा आयोजना गरेको हो ।

प्रधानमन्त्री सवारी हुनेभएपछि प्रहरीले विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाएको छ ।