Breaking News

प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय

७ फागुन, काठमाण्डौ । सरकारले आज शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय गरेका छन् ।

शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखबाट पदमुक्त गरेपछि उनले अदालत जाने निर्णय गरेका हुन् ।

उनका अनुसार राष्ट्रपति कार्यालयबाट प्रदेश प्रमुखको पदबाट मुक्त गरिएको पत्रसमेत आइसकेको छ ।

उनले प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभए नि गुट(उपगुटको राजनीतिमा आशंकाको भरमा पदमुक्त गरिएको आरोप लगाए ।

‘आशंकाको भरमा पदमुक्त गर्न मिल्दैन । त्यस्तै थियो भने आवश्यक तथ्य र प्रमाण देखाउनुपर्थ्यो,’ उनले भने, ‘पूर्वमाओवादीबाट आफू आएको कारण पदमुक्त गरिएको हो भने त्यो अझै दूर्भाग्यपूर्ण हुनेछ ।

उनले आफूलाई बिना कारण पदमुक्त गर्नु व्यक्तिगत मात्र नभई सिङ्गो दलित समुदायमाथिको आक्रमण रहेको दाबी गरेका थिए ।