प्रचण्डको सुरक्षामा १० जना पूर्वलडाकूहरुको टोली परिचालन

६ फागुन, काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका छन् । पूर्वलडाकुहरुको टोली नेकपा बिभाजनलगत्तैदेखि प्रचण्डको सुरक्षामा थियो । सरकारले अहिले सुरक्षा दस्ता फिर्ता गरेपछि यो टोली सार्वजनिक भएको हो ।

युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशाखा) का अनुसार ‘पार्टी बिभाजनलगत्तै युवा संघले नै छानेर टोली खटाएको थियो । हाम्रा साथीहरु सुरक्षा सहयोगीको रुपमा मात्रै थिए तर सरकारले जब सुरक्षाकर्मी खोस्यो त्यसपछि मात्रै हाम्रा साथीहरु फ्रन्टमा देखिएका हुन् ।

दीपशिखाका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोली खटाइएको छ । टोलीका सबै सदस्यहरु युवा संघमा आबद्ध छन् । उनीहरुले प्रचण्डको सुरक्षाको अगुवाइ गर्दै आएका छन् । देशभर भएका विरोध प्रदर्शनमा पनि पाण्डे नेतृत्वको टोलीले नै सुरक्षा प्रवन्ध मिलाउंदै आएको थियो ।

प्रचण्ड शान्ति प्रक्रियामा आउंदा पनि लडाकुहरुको दस्ताले सुरक्षा दिएको थियो । प्रचण्डको सुरक्षा टोलीको नेतृत्व विगतमा सन्तु दराई (परवाना), वीरेन्द्र वीएम (मन्जिल), युवराज दुलाल (शरद)लगायतले गरेका थिए । हाल युवा संघमा रहेका पाण्डे पनि प्रचण्डको सुरक्षामा लामो समयदेखि खटिएका एक सदस्य हुन् । उनले सेना समायोजनको क्रममा स्वेच्छिक अवकास रोजेका थिए ।

प्रचण्डलाई अहिले पनि सुरक्षा थ्रेट छ । तर सरकारले बदनियत ढंगले सुरक्षा टोली फिर्ता गरेपछि पार्टीले विशेष तालिमप्राप्त हाम्रै साथीहरुलाई सुरक्षामा खटाएको छ ।’

सरकारले पूर्वप्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसंगै प्रचण्डको सुरक्षामा हाल दुई जना नेपाल प्रहरीका र करिब १३ जना सशस्त्र प्रहरीका टोली मात्र छन् । यसअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिएका थिए ।