Breaking News

सभापति देउवाको कार्यकाल भदौ ७ सम्म थप

६ फागुन, काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवा ले कार्यसमितिको म्याद थप गर्न पार्टीको विधानमा व्यवस्था गर्ने भएको बताएका छन् ।

संविधानको साहरा लिएर कांग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको अवधि छ महिनाका लागि थप गर्ने व्यवस्था गर्न विधानको धारा ४३ सच्याउन लागेको छ ।

संविधानमा राजनीतिक दलहरूलाई विशेष परिस्थितिमा छ महिना म्याद थप गर्न सकिने उल्लेख छ । सोही व्यवस्था कांग्रेसले पार्टीको विधानमा समावेश गरेर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्न लागेको छ ।

‘पांच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ संविधानको धारा २६९ मा राजनीतिक दलसम्बन्धी व्यवस्थामा भनिएको छ ।

विधानमा उल्लेख गरिने उक्त व्यवस्था पार्टीको १४ औं महाधिवेशनबाट पारित गरिने कांग्रेसले जनाएको छ । देउवाको कार्यकाल फागुन १९ गतेसम्म मात्रै छ ।

कांग्रेसले १४ औं महाधिवेशन नै भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव गरेपछि १३ औं महाधिवेशनबाट २०७२ सालमा आएको देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्न लागिएको हो ।

‘कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी ४ (चार) वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पांच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ,’ बुधबार बसेको केन्द्रीय समितिमा महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्तावमा उल्लेख छ।

आज अपरान्ह ३ बजे पुनः केन्द्रिय समिति बैठक बस्नेछ ।